नेपाल
सरकारको अर्थ मन्त्रालय ले संवत् २०८२ साल जेठ १५ गतेदेखि लागू हुने गरी विदेशबाट
फर्किने र विदेश जाने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका
मालवस्तु सम्बन्धी व्यवस्था स्पष्ट गरेको छ। यस व्यवस्थाअनुसार नेपालमा स्थायी
बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोगका लुगाफाटा, ओछ्यान, पुराना घरायसी सामान, औषधि तथा शारीरिक
रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक उपकरणहरू पूर्ण भन्सार छुटमा ल्याउन
पाउँछन्। साथै एक थान मोबाइल फोन, एक थान ल्यापटप वा ट्याबलेट वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा र
पेनड्राइभ एक–एक थानसम्म पनि महसुल छुटमा ल्याउन पाइन्छ। १ लिटरसम्म मदिरा, बच्चा बोक्ने
पेराम्बुलेटर वा ट्राइसिकल एक थान र ७ किलोसम्म खाद्य परिकार पनि छुटमा ल्याउन
सकिन्छ।
मोबाइल
फोन सम्बन्धी व्यवस्थामा सामान्य नेपाली यात्रुले एक थान मोबाइल पूर्ण छुटमा
ल्याउन पाउँछन् भने श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई लगातार कम्तीमा ६
महिना काम गरी फर्केका नेपाली नागरिकले थप एक थान नयाँ मोबाइल (MDMS मा दर्ता गर्ने
सर्तमा) पनि महसुल छुटमा ल्याउन सक्छन्। यसरी उनीहरूले कुल दुई थान मोबाइलमा छुट
पाउँछन्। टेलिभिजनका हकमा श्रम स्वीकृति लिएर १२ महिना वैदेशिक रोजगारी गरी
फर्केका र सामाजिक सुरक्षा कोष मा सूचीकृत भएका यात्रुले जुनसुकै आकारको एक थान
टेलिभिजन पूर्ण महसुल छुटमा ल्याउन पाउँछन्, जबकि कोषमा सूचीकृत नभएका तर १२ महिना रोजगारी गरेका
यात्रुले ३२ इन्चसम्मको एक थान टेलिभिजन छुटमा ल्याउन पाउँछन्। यो सुविधा अभिलेख
रहने गरी जीवनमा एक पटक मात्र पाइन्छ।
केही
सामानहरू भने तोकिएको परिमाणमा भन्सार महसुल तिरेर ल्याउन पाइन्छ। जस्तै टेलिभिजन, फ्रिज, वासिङ मेसिन, म्युजिक सिस्टम, पंखा र रेडियो एक–एक
थान; मिक्सर, जुसर, सिलाइ मेसिन, इस्त्री, राइस कुकर जस्ता
घरायसी विद्युतीय उपकरण दुई–दुई थान; लत्ताकपडा, जुत्ता र कस्मेटिक्स पाँच–पाँच थान; १० किलोसम्म खाद्य
परिकार;
तथा गहना
बाहेक १०० ग्रामसम्म काँचो सुन महसुल तिरेर ल्याउन सकिन्छ। मदिरा १ लिटरभन्दा बढी
ल्याएमा जफत हुन्छ, व्यापारिक
परिमाणका सामानहरू जफत हुन सक्छन्, र ड्रोन ल्याउनुअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र सञ्चार
मन्त्रालयबाट पूर्व स्वीकृति लिन अनिवार्य छ।
सुन तथा
चाँदीका गहनाका हकमा भन्सार महसुल ऐन, २०८१ को अनुसूची–४ बमोजिम महिला यात्रुले ५० ग्रामसम्म र
पुरुष यात्रुले २५ ग्रामसम्मका सुनका गहना तथा ५०० ग्रामसम्मका चाँदीका गहना पूर्ण
महसुल छुटमा ल्याउन पाउँछन्। यो सुविधा गहनाको रूपमा मात्र लागू हुन्छ, काँचो सुन यसमा
पर्दैन। तोकिएको परिमाणभन्दा बढी गहना ल्याउँदा घोषणा नगरेमा जफत हुन सक्छ र घोषणा
गरी ल्याएमा भन्सार प्रमुखले अवस्था हेरी महसुल लिएर जाँचपास गर्न सक्छन्।
विदेशी
यात्रुका लागि पनि केही सुविधा दिइएको छ। अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने
विदेशी यात्रुले एक थान मोबाइल, ल्यापटप वा ट्याबलेट, क्यामेरा र बाइनाकुलर महसुल छुटमा ल्याउन पाउँछन्। उनीहरूले
१ लिटरसम्म मदिरा वा १२ क्यान बियर, २०० खिल्ली चुरोट वा ५० सिगार, १० हजार रुपैयाँसम्मको
औषधि र ५ हजार रुपैयाँसम्मको खानेकुरा पनि छुटमा ल्याउन सक्छन्। नेपाल प्रवेश
गर्दा ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा साथमा ल्याएमा भन्सारमा
अनिवार्य घोषणा गर्नुपर्छ; घोषणा नगरी ल्याएमा जफत र कारबाही हुन सक्छ।
नेपालबाट
बाहिर जाँदा यात्रुले नेपालमा उत्पादित हस्तकला, लुगाफाटा र अन्य वस्तुहरू (पुरातात्विक महत्त्वका वस्तु
बाहेक) साथमा लैजान पाउँछन्। साथै ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा
लैजाँदा स्रोत खुल्ने कागजात वा भन्सार घोषणा अनिवार्य हुन्छ। यी सबै व्यवस्थाहरू
निजी प्रयोगका वस्तुका लागि मात्र लागू हुने भएकाले व्यापारिक प्रयोजनका लागि धेरै
संख्यामा सामान ल्याएमा जफत र कारबाही हुने व्यवस्था रहेको छ।
Leave Your Comment