Logo

Blog Details

रुसी क्रान्ति (Russian Revolution 1917 AD)

Self Study Team 2025-04-08 11:58:40 759 4

रुसी क्रान्ति (Russian Revolution 1917 AD)

विभिन्न समयमा विभिन्न मुलुकहरूमा क्रान्तिहरू भएका छन् । क्रान्ति भनेको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रमा गरिने आमूल परिवर्तन हो । राजनीतिक क्रान्तिले पुरानो सत्तालाई विस्थापित गरेर नयाँ सत्ता स्थापना गर्दछ । यस प्रकार शक्ति, अधिकार र सुविधाका लागि दुई पक्षका बिचमा तानातानको अवस्था उत्पन्न हुन्छ । दुवैले आफ्ना शक्तिको प्रदर्शन र प्रयोग गर्ने हुनाले राजनीतिक क्रान्तिहरू हिंसात्मक हुन्छन् । रुसी क्रान्तिले जारको शासनको अन्त्य गरी किसान र मजदुरको सरकार स्थापना गरेको थियो र साम्यवादी राजनीतिक व्यवस्थाको थालनी भएको थियो ।

रुसी क्रान्तिका केही महत्वपूर्ण कारणहरू

१. जारको निरङ्कुश शासन

रुसमा जारको शासन कायम थियो । रुसी भाषामा राजालाई जार भनिन्थ्यो । जार स्वेच्छाचारी थिए । उनले आफूलाई ईश्वरका प्रतिनिधि मान्दथे । यहाँको शासनमा जनप्रतिनिधिहरू रहँदैन्थे । जार र उनका नातेदारहरूले असीमित अधिकार प्रयोग गर्दथे भने जतनामाथि कठोर दमन थियो । नागरिकहरूलाई गाँस, वास, कपासको समस्या थियो । आफ्ना मनका कुरा अभिव्यक्त गर्ने स्वतन्त्रता थिएन । देशमा भएको अन्याय, अत्यार, भ्रष्टाचार र शोषणको विरुद्धमा आवाज उठाउनेलाई कठोर यातना दिइन्थ्यो ।

सन् १८९४ मा २६ वर्षको उमेरमा जार निकोलस द्वितीयले रुसको राज्यरोहण गरेका थिए । उनी आत्मनिर्णय गर्न नसक्ने र कमजोर प्रकृतिका सम्राट थिए । उनमा राजनीतिक ज्ञान थिएन । अतः उनले विरोध गर्नेहरूलाई निर्ममतापूर्वक दमन गरियो। यो नीतिका कारणले अल्पसङ्ख्यकहरूको भाषा, परम्परा तथा संस्कृतिमाथि आघात पर्‍यो। उनीहरूलाई आफ्नो संस्कृतिमाथिको प्रहार मन परेन । त्यसैले आफ्नो संस्कृति तथा भाषाको रक्षा गर्नका लागि अल्पसङ्ख्यक जातिहरू जारको शासनको विरोधमा एकजुट हुन थाले ।

हरेक कुरामा जरिनाको सहयोग र सल्लाह लिने गर्दथे । जरिना निकै जब्बर स्वभावकी थिइन् । त्यसैले जारमाथि जरिना र अन्य दरबारियाहरूको गहिरो प्रभाव रहेको थियो । त्यसबेला रुसमा रासपुटिन नाम गरेका एक जना चरित्रहीन पादरी थिए । जरिनाले उनलाई निकै मन पराउँथिन् । रुसी जनताले रासपुटिनलाई घृणा गर्दथे तर जरिनासँगको सम्पर्कले उनी नै रुसका प्रभावशाली व्यक्ति बनेका थिए । यसले गर्दा रुसी जनता दरबारको विरोधी बन्न गए ।

सन् १९०४–०५ को रुस–जापान युद्धमा रुसको पराजय भएको थियो । रुसी सेना अनुशासनहीन भएको र युद्धका बेला सेनाका लागि पर्याप्त सुविधा र हतियार नभएको हुनाले युद्धमा पराजित हुनु परेको थियो । यो पराजय हुनुमा जारको कमजोर स्वभाव र जरिना तथा रासपुटिनको स्वार्थी निर्णयहरू जिम्मेवार भएको रुसी जनताको मूल्याङ्कन थियो । यस्तो गम्भीर परिस्थितिमा पनि स्वविवेकले निर्णय लिन नसक्ने हुनाले रुसी जनता जार र राजतन्त्रका विरोधी बन्न गए ।

जार निकोलस द्वितीयको समयसम्म आइपुग्दा देशमा अत्याचारले सीमा नाघिसकेको थियो । जनताले देशको यो अवस्थामा सुधार गर्न चाहन्थे । त्यसैगरी जार निकोलस द्वितीयले आफ्नो समर्थन नगर्ने जनतामाथि कठोर दमन गर्न थाले । देशमा सैनिक कानुन (Martial Law) लगाइयो । सन् १९०५ को जनवरी २२ तारिख आइतबारको दिनमा सेन्ट पिटरवर्गमा मजदुरहरूको शान्तिपूर्ण जुलुसले जारसमक्ष आफ्ना मागहरू राख्नका लागि राजदरबारतर्फ गइरहेको अवस्थामा शाही सेना/प्रहरीले गोली चलाई धेरै मजदुरहरूको ज्यान लियो । यो घटनालई रुसको इतिहासमा “रक्तिम आइतबार” (Bloody Sunday) भनेर चिनिन्छ । यसले रुसी जनतामा राजतन्त्रप्रति नै वितृष्णा उत्पन्न भयो ।

२. सामाजिक भेदभाव

रुसी क्रान्ति अगिको समाज मूलतः दुई वर्गमा विभाजित थियो । तिनीहरू कुलीन वर्ग र किसान वर्ग थिए । सामन्त, उच्च पदाधिकारी, राजपरिवार र उनीहरूका नातेदारहरू कुलीन वर्गमा पर्दथे । यो वर्ग सुविधा प्राप्त वर्ग थियो । देशको प्रशासनिक, राजनीतिक तथा आर्थिक अधिकार यही वर्गमा निहित थियो । देशका उद्योग र मलिला जमिन यही वर्गको अधीनमा थिए । यो वर्गलाई राज्यले विशेष राहत र सुविधाहरू उपलब्ध गराउँथ्यो भने आफ्नो सम्पत्तिको कुनै किसिमको करसमेत तिर्नु पर्दैन्थ्यो । देशमा यो वर्गको सङ्ख्या थोरै र सीमित थियो । तर यही वर्गले देशको अधिकार तथा सम्पत्तिको ठुलो हिस्सा ओगटेको थियो । त्यसैगरी अर्को वर्ग किसान वर्ग थियो । यो सुविधाविहीन वर्ग थियो । देशको जनसङ्ख्याको ठुलो अंश यही वर्गको थियो । यी किसानहरू भू–दास (Serfs) थिए। भू–दास भनेको मालिकको जमिनमा खेती गरेर बस्ने मानिसहरू हुन् । यिनीहरूको आफ्नो सम्पत्ति तथा स्वतन्त्रता हुँदैन्थ्यो । आफूले उब्जाएको अन्न मालिकलाई बुझाउँनु पर्दथ्यो र मालिकले आफ्नो जमिन बेच्दा यिनीहरू पनि जमिनसँगै बेचिन्थे । यस्तो सामाजिक भेदभावको अन्त्य गर्नु जरुरी भएकाले सामाजिक भेदभाव रुसी क्रान्तिको एउटा कारण बन्न गयो । त्यस्तै पछिल्लो समयमा उद्योगको विकास भएपछि मजदुर वर्गको निर्माण भयो । यो वर्ग पनि सुविधाविहीन वर्ग थियो ।

३. बौद्धिक कारण

कुनै पनि घटना घट्नका लागि बौद्धिक कारणको निकै महत्वपूर्ण भूमिका रहन्छ । बौद्धिकता भनेको चेतनाको विकास हो। चेतनाको विकास भएपछि मानिसले सत्य र असत्यका बिचको भिन्नता थाहा पाउँछ र सत्यको मार्ग अवलम्बन गर्दछ । यस कालका इभान तुर्गनेफ, लियो टाल्सटाय, म्याक्सिम गोर्की आदि जस्ता विद्वानहरूले विदेशी किताबको रुसी भाषामा अनुवाद गरे । यसका कारणले रुसी जनताहरूले अन्य मुलुकमा चलेको शासन व्यवस्था तथा राजनीतिक सिद्धान्तहरूको अध्ययन गर्ने र आफ्नो मुलुकको अवस्थासँग तुलना गर्न थाले । त्यसैगरी विद्वानहरूले नयाँ सिर्जनासमेत गरे । विभिन्न पत्रपत्रिकाको भूमिगत रूपमा प्रकाशन हुन

थाल्यो । विद्वानहरूको यस्तो योगदानका कारणले रुसी जनताले त्यहाँको यथार्थ अवस्थाको जानकारी पाए । उनीहरू आफ्ना अधिकारको उभयोग गर्नका लागि जार शासनका विरुद्ध जागरुक हुन थाले । अतः विद्वानहरूको योगदान रुसी क्रान्तिको महत्वपूर्ण कारण बन्न गयो ।

४. ड्युमाप्रति जनताको असन्तोष

ड्युमा भनेको संसद् हो र यसका सदस्य जनप्रतिनिधिहरू हुनुपर्ने हो । रुसका जनताहरूको असन्तोष बढ्दै गएपछि उनीहरूलाई शान्त पार्ने उद्देश्यले जारले ड्युमाको निर्माण गरे । यो केवल देखावटी मात्र थियो । यसले स्वतन्त्र रूपले निर्णय गर्न सक्दैन्थ्यो । अर्कोतर्फ ड्युमाका सदस्यहरू पनि जननिर्वाचित प्रतिनिधिहरू थिएनन् । विशाल रुसको ठुलो जनसङ्ख्याको प्रतिनिधित्व हुन सकेको थिएन । यिनीहरू जारद्वारा मनोनित व्यक्तिहरू थिए र पादरी, कुलीन तथा उच्च वर्गका मानिसहरू मात्र थिए । यिनीहरूले जनताका अधिकारहरू स्थापित गर्न चाहँदैन्थे । ड्युमाले जार तथा जरिनाका इच्छाअनुसार काम गर्ने गर्दथ्यो । त्यसैले रुसका जनतामा त्यहाँको तत्कालीन ड्युमाप्रति वितृष्णा फैलिएको थियो । रुसी जनताहरू आफ्नो प्रतिनिधित्व गर्न सक्षम ड्युमाको निर्माण गर्न चाहन्थे । अतः जारको ड्युमा निर्माण गर्ने कदम पनि क्रान्तिको एउटा कारण बन्न गयो ।

६. रुसीकरणको नीति

रुसको विशाल साम्राज्यमा स्लाभ जातिबाहेक अल्पसङ्ख्यक फिन, कोल, यहुदी, पोल, जर्मन आदि जस्ता जनजातिहरूको पनि बसोबास थियो । उनीहरूका आफ्ना भाषा, परम्परा तथा संस्कृति थिए । अलेक्जेन्डर तृतीयले रुसीकरणको नीतिको कार्यान्वयन गर्दै रुसी भाषा तथा संस्कृतिलाई अनिवार्य गरे । यसको विरोध गर्नेहरूलाई निर्ममतापूर्वक दमन गरियो । यो नीतिका कारणले अल्पसङ्ख्यकहरूको भाषा, परम्परा तथा संस्कृतिमाथि आघात पर्‍यो । उनीहरूलाई आफ्नो संस्कृतिमाथिको प्रहार मन परेन । त्यसैले आफ्नो संस्कृति तथा भाषाको रक्षा गर्नका लागि अल्पसङ्ख्यक जातिहरू जारको शासनको विरोधमा एकजुट हुन थाले ।

७. मजदुर वर्गको सिर्जना

रुसको अर्थतन्त्र कृषिमा आधारित भए पनि अलेक्जेन्डर तृतीयको शासन कालदेखि विदेशी लगानीमा उद्योगहरूको स्थापना भयो । उद्योगहरूको स्थापना सँगसँगै मजदुर वर्गको सिर्जना भयो । यसपछि रुसमा मालिक र मजदुरका बिचमा द्वन्द्वको अवस्था आयो । मालिकहरू लामो समयसम्म थोरै पारिश्रमिकमा मजदुरहरूलाई काम लगाउँथे। मालिकहरूले धेरै नाफा कमाउँथे र मजदुरहरूलाई थोरै दिन्थे । यसले गर्दा मजदुर वर्गको शोषण हुन गएको थियो । यही वर्गले आफ्नो अधिकारको माग गर्दै क्रान्तिको नेतृत्व गर्‍यो । जसको परिणामस्वरूप जारतन्त्रको अन्त्य भई मजदुर वर्गको सत्ता स्थापना भयो ।

८. राजनीतिक दलको स्थापना

रुसमा समाजवादी क्रान्तिकारी र समाजवादी प्रजातान्त्रिक गरी दुई दलहरूको भूमिगत रूपमा स्थापना भएको थियो । समाजवादी क्रान्तिकारी दलले किसानहरूलाई सङ्गठित गर्दै थियो भने समाजवादी प्रजातान्त्रिक दलले मजदुरहरूलाई सङ्गठित गरिरहेको थियो । सन् १९०३ मा भएको समाजवादी प्रजातान्त्रिक दलको अधिवेशनमा दुई धारहरू देखा परे । जुलियस मारटोभले एउटा समूहको नेतृत्व गरे यसलाई “मेन्सेभिक” भनियो । “मेन्सेभिक” को अर्थ अल्पमत हो । यो धार नरमपन्थीहरूको थियो । यिनीहरू विस्तारै समाज सुधार गर्दै जाने पक्षमा थिए । त्यस्तै भ्लादिमिर लेनिन (Vladimir Lenin) ले क्रान्तिकारी पक्षको नेतृत्व गरे । यसलाई “बोल्सेभिक” भनियो । बोल्सेभिकले क्रान्तिबाट देशमा आमूल परिवर्तन गर्ने लक्ष्य निर्धारण गर्‍यो । यी दुवै दलहरूले जनतालाई जारको विरुद्धमा सङ्गठित गर्दै गए । अतः राजनीतिक दलहरूको स्थापना रुसको क्रान्तिको मूल कारणमध्ये एक थियो ।

९. तत्कालनी कारण

रुसी क्रान्तिका तत्कालीन कारणहरू प्रथम विश्वयुद्धमा रुसको पराजय तथा अनिकाल थिए । प्रथम विश्वयुद्धमा रुस पराजित हुनुको प्रमुख कारण जार शासकले रुसी सेनालाई अनुशासनमा राख्न नसक्नु र उनीहरूको राम्रो प्रबन्ध नमिलाउनु थियो । यसबाट जनता तथा सेनामा जारको शासनप्रति अविश्वास पैदा भइसकेको थियो । त्यसैगरी सन् १९१६ मा रुसी जनताले ठुलो अनिकालको सामना गर्नु पर्‍यो । खेतीपाती गर्ने किसानहरूको ठुलो समूहलाई जार शासकले युद्धमा पठाएका थिए । यसले गर्दा रुसमा खेती गर्ने मानिस भएनन् र अनिकाल पर्‍यो । यस्तो अवस्थामा जारले सेनाको मनोबल बढाउने र अनिकाल पीडित जनताहरूलाई राहत दिने कुनै किसिमकाल कार्यव्रmम ल्याएनन् । सन् १९१७ को मार्च ७ मा अनिकाल पीडित मजदुरहरूले पेट्रोग्राड भन्ने स्थानमा रोटी लुटेर रुसी क्रान्तिको थालनी गरे ।

 

रुसी क्रान्तिः घटना र परिणामहरू

.  क्रान्तिको थालनी र जार शासनको अन्त्य

भोकमरी र अनिकालले पीडित रुसी जनताहरूले पेट्रोग्राडमा ७ मार्च १९१७ का दिनमा रोटी लुटेर क्रान्तिको थालनी गरेका थिए । पेट्रोग्राड रुस साम्राज्यको राजधानी थियो । पेट्रोग्राडको अर्को नाम सेन्ट पिटरवर्ग हो । त्यसको अर्को दिन कारखानामा काम गर्ने महिला मजदुरहरूले युद्धको अन्त्य, जार शासनको अन्त्य र रोटीको माग गर्दै प्रदर्शन गरे । निरन्तर मजदुर हड्ताल र प्रदर्शनीहरू हुन लागे । मजदुरहरू कारखाना बन्द गरेर क्रान्तिमा निस्कन थालेपछि जारले मजदुरहरूलाई कारखानमा फर्कने आदेश दिए तर मजदुरहरूले यो आदेशको अवज्ञा गरे । विद्रोह दबाउनका लागि जारले प्रहरी पठाए । प्रहरीले चलाएको गोलीले केही प्रदर्शनकारीहरूको ज्यान गयो । तर उनीहरू आत्तिएनन् बरु प्रहरीबाटै हतियार खोस्न सफल भए । यसरी प्रहरी असफल भएपछि मजदुरहरूको दमन गर्नका लागि जारले सेना परिचालन गरे तर १२ मार्चमा पेट्रोग्राडमा सैनिकहरूले मजदुरमाथि गोली चलाउन मानेन् । साठी हजार सैनिकहरूले क्रान्तिकारीहरूको समर्थन गरे । १४ मार्चमा मजदुर र सैनिक प्रतिनिधिहरू सम्मिलित अस्थायी सरकार गठन गरेर जारलाई चुनौती दिइयो र “प्रिन्स ल्भोभ”लाई अस्थायी सरकारको प्रधानमन्त्री बनाइयो । देशमा यस्तो अवस्था सिर्जना भएपछि कतैबाट कुनै किसिमको सहयोग प्राप्त नहुँदा सन १९१७ मार्च १५ मा जारले सिंहासन त्याग गरे । जारले गद्दी त्यागेपछि केरेन्स्कीलाई सरकार प्रमुख बनाइयो । यसरी क्रान्ति सुरु भएको एक सातामानै रुसमा जारको शासनको अन्त्य भयो । यो क्रान्तिलाई मार्चको क्रान्ति भनेर चिनिन्छ ।

२. लेनिन र बोल्सेभिक क्रान्ति

रुसका महान नेता भ्लादिमिर इलियाच लेनिनको जन्म सन् १८७० मा रुसको भोल्गा नदीको किनारमा अवस्थित एउटा गाउँको साधारण परिवारमा भएको थियो । उनी कानुनका विद्यार्थी थिए । उनका क्रान्तिकारी विचारका कारणले उनलाई साइबेरियामा

निर्वासित गरी कैद गरिएको थियो । साइबेरिया चिसो ठाउ्रँ भएकाले जार सरकारले सजाय दिनुपर्ने मानिसलाई साइबेरियामा लगेर कैद गर्दथ्यो । सन् १९०० मा उनलाई कैद मुक्त गरी देश निकाला गरियो।

त्यसपछि उनले स्विट्जरल्यान्डमा निर्वासित जीवन बिताउन लागे । उनी निर्वासित भएका बखत पत्रिकाहरू प्रकाशित गर्दथे र गुप्त रूपले रुसमा पठाउने गर्दथे । सन् १९०३ मा उनको नेतृत्वमा बोल्सेभिक दलको स्थापना भएको थियो । उनी विद्यालय पढ्दादेखि नै माक्र्सवादी विचारबाट प्रभावित भएका थिए । मार्च क्रान्ति सफल भएर जारको शासन अन्त्य हु्ँदा पनि लेनिनलाई सरकारले आफ्नो देशमा आउने अनुमति दिएको थिएन । सन् १९१७ को अप्रिल महिनामा लेनिन गोप्य रूपले पेट्रोग्राड आई बोल्सेभिकहरूको नेतृत्व लिए । स्टालिन र ट्राटस्कीले लेनिनका विचारको स्वागत र समर्थन गरे ।

रुसका मजदुर, किसान तथा सेनाले युद्धको अन्त्य, उद्योगको सरकारीकरण तथा भूमिहीनहरूलाई जमिनको वितरणको माग गरेका थिए । तर यो सरकार पुँजीपतिहरूको सरकार भएकाले जनताका आधारभूत कुराहरूप्रति ध्यान दिएन । त्यसैले रुसी मजदुर, किसान तथा सेना केरेन्स्की सरकारबाट सन्तुष्ट थिएनन् । यसै बखत लेनिनले बोल्सेभिकको नेतृत्व आफ्नो हातमा लिए र केरेन्स्की सरकारलाई चुनौती दिए । केरेन्स्की सरकारले बोल्सेभिकहरूलाई कारबाही गर्न थाल्यो । बोल्सेभिकले २५ हजार सशस्त्र मजदुरहरू तयार पारेको थियो, जसलाई लाल रक्षक (Red Guards) भनिन्थ्यो । ७ नोभेम्बर १९१७ मा बोल्सेभिक क्रान्ति भयो । पेट्रोग्राडको सेनाले समेत बोल्सेभिकलाई साथ दियो । केरेन्स्की रुसबाट भागे । लेनिनको अध्यक्षतामा सर्वहारा वर्गको अधिनायकवादी सरकार गठन भयो । यसलाई विश्वको इतिहासमा नोभेम्बर क्रान्तिका नामले समेत चिनिन्छ ।

३. रुसी क्रान्तिका परिणामहरू

विश्वको इतिहासमा बोल्सेभिक क्रान्तिलाई फरक रूपमा हेरिन्छ किनभने यो युद्धपछि संसारमा नयाँ राजनीतिक सिद्धान्तको अभ्यास भएको थियो । यसका परिणामहरूलाई निम्नलिखित बुँदागत रूपमा अध्ययन गरिन्छः

(क) सर्बहारा वर्गको अधिनायकवादको स्थापना

नोभेम्बर क्रान्तिभन्दा अगाडि रुसको जमिन, उद्योग तथा अन्य कुराहरू पादरी र कुलीन वर्गको नियन्त्रणमा थिए । लेनिनले सत्ता कब्जा गरेपछि चर्चको सम्पत्ति राष्ट्रियकरण गरे। जमिनहरू भूमिहीन वर्गलाई बाँडियो । उद्योगहरू मजदुरको नियन्त्रणमा आए । सम्पत्तिको राष्ट्रियकरण गरियो। यसलाई युद्ध साम्यवाद मानिन्छ । तर यसले रुसको आर्थिक अवस्थामा ज्यादै नकरात्मक प्रभाव पार्‍यो । यसकारण सन १९२१ मा युद्ध साम्यवादलाई हटाई नयाँ आर्थिक नीति लागु गरियो। सन् १९२४ पछि पुनः स्टालिनले नयाँ आर्थिक नीतिको अन्त्य गरी राष्ट्रियकरणको नीति अपनाए ।

सन् १९१८ मा निर्माण गरिएको संविधानअनुरसार पादरी, जमिन्दार र भूमिपति वर्गलाई मताधिकारबाट समेत वञ्चित गरिएको थियो । यसरी लेनिन, ट्रास्टकी तथा स्टालिन जस्ता व्यक्तित्वहरूको नेतृत्वमा रुसमा साम्यवादी शासनको स्थापना गरियो।

(ख) विश्व शक्तिको रूपमा रुसको उदय

बोल्सेभिक क्रान्तिपछि रुसमा नयाँ आर्थिक नीति कार्यान्वयन गरियो। महिला र पुरुषबिचको भिन्नता अन्त्य भयो । स्टालिनले पञ्चवर्र्षीय योजना बनाई कार्यान्वयन गरे । जसको परिणामस्वरूप रुसले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान आदि क्षेत्रमा उल्लेख्य प्रगति गर्‍यो । युरोपको पिछडिएको रुस केही कालमा नै विश्वको शक्तिशाली राष्ट्रका रूपमा स्थापित भयो । सन् १९२९ देखि १९३२ सम्म विश्वका विभिन्न मुलुकहरू चरम आर्थिक मन्दीको मारमा परे तर रुसमा भने आर्थिक मन्दीको कुनै प्रभाव परेको थिएन ।

(ग) नयाँ सिद्धान्तहरूको स्थापना र साम्यवादको प्रचार

बोल्सेभिक क्रान्तिभन्दा अगाडि विश्वका सबै मुलुकमा सामन्तवादी सिद्धान्तमा आधारित पुँजीपति तथा कुलीन वर्गको सर्वसत्तावाद स्थापित थियो । बोल्सेभिक क्रान्तिले सर्वहारा, किसान, मजदुर वर्गलाई प्राथमिकतामा राख्यो । यसरी सामन्तवादको विरुद्धमा साम्यवादी सिद्धान्तको विकास भयो । साम्यवादी सिद्धान्तमा आधारित राजनीतिक व्यवस्था तत्कालीन रुसका लागि वरदान भएको थियो । त्यसैले अन्य मुलकहरूमा समेत यो सिद्धान्तको प्रचारप्रसार गर्नका लागि थर्ड इन्टरनेसनल (Third International) को स्थापना गरियो। स्टालिनले पनि धेरै मुलुकहरूमा यसको प्रचार प्रसार गरे । विश्वका झन्डै २५ भन्दा बढी देशहरूले यो व्यवस्थाको अभ्यास गरे ।

(घ) धार्मिक शोषणको अन्त्य

रुसमा चर्च र पादरीहरूले जनताको शोषण गर्ने र जारको शासनलाई टेवा दिने कार्य गरेका थिए । चर्चहरू सबै अन्धविश्वासका केन्द्र थिए । यिनीहरूले जारलाई परमेश्वर हुन् भनेर प्रचार गर्दथे । बोल्सेभिक क्रान्ति भइसकेपछि पादरी वर्गलाई मताधिकारबाट समेत बञ्चित गरियो। चर्चका सम्पत्तिहरू राष्ट्रियकरण गरिए । चर्चहरूले चलाएका स्कुल बन्द गरिए । चर्चहरूलाई सङ्ग्राहलय तथा सरकारी कार्यालयका रूपमा प्रयोग गर्न थालियो ।

(ङ) अन्य मुलुकहरूमा जागरण

बोल्सेभिक क्रान्तिको परिणामस्वरूप रुसमा भएको परिवर्तनले विभिन्न मुलुकहरूमा प्रत्यक्ष प्रभाव पार्न थाल्यो । विभिन्न मुलुकका जनताहरू सचेत भई आफ्ना अधिकारहरूको दावी गर्न लागे । सामन्तवादी शासन चलाइरहेका राज्यका सरकारहरू आफ्नो देशमा पनि रुसमा जस्तै क्रान्ति होला कि भनेर आत्तिए । ती राज्यहरूले किसान तथा मजदुरको अवस्था सुधार गर्नका लागि केही योजनाहरू बनाई कार्यान्वयन गरे ।

(च) रुस विरुद्ध गठबन्धन

रुसमा साम्यवादी सरकारको स्थापना भएको कुरा युरोपका मुलुकहरूलाई मन परेको थिएन । त्यसैले साम्यवादी प्रभावलाई रोक्नका लागि युरोपेली मुलुकहरूले रुसलाई एक्ल्याउने प्रयास गरे । बोल्सेभिक विरुद्ध युरोपेली मुलुहरूले षडयन्त्र गरे पनि सफल हुन भने सकेनन् । यसरी विश्वमा एउटा पुँजीवादी र अर्को साम्यवादी गरी दुई गुटहरू देखा परे ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team