Logo

Blog Details

जनसङ्ख्या व्यवस्थापन

SS Team 2025-04-08 16:14:47 750 1

अवधारणा

उपलब्ध स्रोत साधन र जनसङ्ख्याबिचको सन्तुलित अवस्था जनसङ्ख्या व्यवस्थापन हो । मानिसका आवश्यकता परिपूर्ति गर्ने प्रमुख माध्यम प्राकृतिक स्रोत हुन् । उपलब्ध साधनस्रोतको तुलनामा जनसङ्ख्याको मात्रा बढी हुन गएमा आवश्यकताको परिपूर्तिमा नकारात्मक असर पुग्छ र विभिन्न किसिमका समस्या देखा पर्न सक्छन् । जनसङ्ख्याका व्यवस्थापन भनेको जनसङ्ख्याको सन्तुलित अवस्था पनि हो । यसले व्यक्तिका आधारभूत आवश्यकताको सहज आपूर्तिका साथ गुणस्तरीय जीवनयापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जनसङ्ख्या गतिशील छ तर जनसङ्ख्या वृद्धिको अनुपातमा प्राकृतिक स्रोत बढ्दैनन् । समयमै सन्तुलनका उपाय अवलम्बन गरी जनसङ्ख्याको उचित व्यवस्थापन गर्नु मानव जगतका निम्ति हितकर हुन्छ । जनसङ्ख्याको व्यवस्थापन नै जनसङ्ख्या वृद्धि र देशको सामाजिक तथा आर्थिक अवस्थाबिच सन्तुलन कायम गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो । जनसङ्ख्या व्यवस्थापनले प्राकृतिक स्रोत र उपलब्धताको आधारमा जनसङ्ख्याको वितरणमा पनि जोड दिन्छ । जनसङ्ख्याको व्यवस्थापन प्रक्रियामा वृद्धिदर नियन्त्रण गर्ने मात्र नभई जनसङ्ख्याको वितरण, बसाइँसराइको संरचना, अवस्था र अन्य विकासका गतिविधिसँग सम्बद्ध पक्षहरूलाई पनि उत्तिकै महत्व दिइन्छ ।

जनसङ्ख्या व्यवस्थापनका उपाय

जनसङ्ख्याको व्यवस्थापन उपलब्ध स्रोत र साधनसँग जनसङ्ख्यालाई सन्तुलन गर्ने प्रक्रिया हो । जनसङ्ख्याको आकार, वितरण, संरचना, वृद्धिदर आदि जनसङ्ख्याको व्यवस्थापनसँग सम्बन्धित हुन्छन् । सामान्यतया जनसङ्ख्याको व्यवस्थापनलाई वृद्धिको नियन्त्रणसँग मात्र जोडेर हेर्ने गरिन्छ ।

यस प्रक्रियामा जन्म दर, मृत्युदर बसाइँसराइ, सन्तुलित जनसङ्ख्या आदिको पनि विश्लेषण गर्नुपर्ने हुन्छ । गुणस्तरीय जीवन यापनका निम्ति आधारभूत आवश्यकताका साथसाथै शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी, मनोरञ्जन, अधिकारको सुनिश्चितता हुनुपर्छ । ती सबै पक्षहरूको प्रभावकारी ढङ्गले व्यवस्थापन गर्नु जनसङ्ख्याको व्यवस्थापन हो । त्यसकारण जनसङ्ख्याको व्यवस्थापनका निम्ति प्रत्यक्ष तथा अप्रत्यक्ष उपायहरू अवलम्बन गर्न सकिन्छ ।

प्रत्यक्ष उपायअन्तर्गत

ढिलो विवाह, जन्मान्तरको वृद्धि, वैध गर्भपतन, अव्यवस्थित बसाइँसराइको नियन्त्रण, गर्भनिरोधक साधनहरूको प्रयोग आदि पर्छन् । महिलाले १४ वर्षदेखि ४९ वर्षसम्मको उमेरमा बच्चा जन्माउन सक्छन् । यदि कुनै पनि महिलाको विवाह १५ वा १६ वर्षकै उमेरमा भयो भने लामो समय अथवा लगभग ३३, ३४ वर्षको अवधिसम्म बच्चा जन्माउन सक्ने सम्भावना रहन्छ । जति लामो समयसम्म गर्भाधारण गर्ने समय रहन्छ सोही अनुपातमा जनसङ्ख्याको वृद्धि हुने सम्भावना हुन्छ र यसबाट जनसङ्ख्याको वृद्धि सँगसँगै व्यवस्थापनमा पनि कठिनाइ हुने भएको हुन्छ । यदि विवाहको उमेर नै ढिलो भयो भने एकातर्फ गर्भाधारण गर्ने समय पनि घट्दै जान्छ भने अर्कातर्फ ढिलो उमेरसम्म अन्य अवस्थामा पनि परिपक्वता आइसक्ने हुँदा जन्म दर स्वभाविक रूपमा नियन्त्रण हुन्छ ।

वर्तमान समयमा सडकको सुविधा, तीव्र सहरीकरण, आधुनिकीकरण आदिले बसाइँसराइमा व्यापकता आएको छ । अव्यवस्थित बसाइँसराइ भएमा स्रोतहरूको अभाव हुने, प्रदूषण बढ्ने, प्राकृतिक स्रोत साधनमाथिको दबाब बढ्ने हुन्छ । सहरी क्षेत्रमा देशका विभिन्न ठाउँबाट अत्यधिक मात्रामा आउने जनसङ्ख्याको कारण व्यवस्थापनमा चुनौती देखा परेको छ । अव्यवस्थित किसिमको बसाइँसराइ भएमा ग्रामीण भेगमा भएका स्रोतहरूको प्रभावकारी रूपमा उपयोग गर्ने मानिसको अभाव रहन्छ । ग्रामीण भेगमा खेतबारी बाँझा हुन्छन् । महिलाको गर्भाधारण गर्न सक्ने क्षमता, अव्यवस्थित बसाइँसराइ, जन्मदरको भिन्नता आदिले जनसङ्ख्या वृद्धिमा प्रत्यक्ष असर पुर्‍याउने हुनाले यिनको व्यवस्थापन जनसङ्ख्या व्यवस्थापनको प्रत्यक्ष उपायअन्तर्गत पर्छ ।

 

अप्रत्यक्ष उपायअन्तर्गत

जनसङ्ख्या शिक्षा, विभिन्न सचेतनामूलक कार्यक्रम, महिला सशक्तीकरण, रोजगारी तथा आयआर्जनमूलक गतिविधिमा वृद्धि आदि पर्छन् ।

जनसङ्ख्या व्यवस्थापनमा अप्रत्यक्ष माध्यमको भूमिका पनि महत्वपूर्ण हुन्छ । यिनले दूरगामी रूपमा प्रभाव पार्ने हुन्छन् । यस्ता उपाय अवलम्बन गर्न सके दीर्घकालीन रूपमा जनसङ्ख्याको व्यवस्थापनमा मदत पुग्छ ।

जनसङ्ख्याको व्यवस्थापनमा सरकारको एकल प्रयास मात्र पर्याप्त हुँदैन । हरेक क्षेत्र, समुदाय तथा व्यक्तिले पनि आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्ण व्यवहार प्रदर्शन गर्नुपर्छ ।

 

अभ्यासका लागि प्रश्न

(क) जनसङ्ख्या व्यवस्थापन भनेको के हो?

(ख) जनसङ्ख्या व्यवस्थापनका प्रत्यक्ष तथा अप्रत्यक्ष उपायको सूची तयार पार्नुहोस् ।

(ग) जनसङ्ख्या व्यवस्थापनमा तपाईँले निर्वाह गर्न सक्ने भूमिका छोटकरीमा लेख्नुहोस् ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team