“ मुद्राको व्यवस्थापन गर्ने मूल नीति: मौद्रिक नीति “
मौद्रिक नीति
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।
मौद्रिक नीति भनेको सरकार वा मौद्रिक अधिकारीले मुलुकको राष्ट्रिय आवश्यकताअनुसार मुद्रा प्रदाय विनिमयदर, कर्जा प्रवाह, व्याजदर र मूल्य सम्बन्धमा अपनाउने समष्टिगत नीति हो।
देशको मुद्रा एवं साखको पूर्तिलाई एक निश्चित स्तरमा कायम राख्ने Monetary Authority को रूपमा रहेको केन्द्रीय बैङ्कले अपनाउने नीतिलाई मौद्रिक नीति भनिन्छ।
मुद्रा सृजना तथा निष्कासन, मुद्रा विस्तार तथा सञ्कुचन, अर्थव्यवस्थाको मौद्रीकरण, मुद्राको विनिमयदर निर्धारण, विदेशी विनिमय नियन्त्रण तथा समग्र मुद्रा व्यवस्थापनसम्बन्धी प्रचलित सार्वजनिक नीतिलाई मौद्रिक नीति भनिन्छ।
मौद्रिक नीति समष्टिगत आर्थिक नीति (Macroeconomic Policy) का तीन प्रमुख औजारमध्ये एउटा औजार हो।
मौद्रिक नीतिले अर्थव्यवस्था मौद्रिक व्यवस्थापन, व्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणाली सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन र वित्तीय नियमन जस्ता उपाय मार्फत् नियमन र सन्तुलन कायम गरी सरकारको आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउँछ।
कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ। मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महँगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन्।
मौद्रिक नीतिले सर्वसाधारणलाई कसरी छुन्छ भन्ने प्रश्नको जवाफ लगभग यसको उद्देश्यबाटै प्रस्ट हुन्छ। हामीकहाँ देशलाई आवश्यक पैसा छाप्ने र बजारमा पठाउने काम राष्ट्र बैंकले गर्छ। मौद्रिक नीतिमा बारम्बार सुनिने 'मुद्रा प्रवाह' वा 'मुद्रा प्रदाय' भनेकै बजारमा पैसाको प्रवाह व्यवस्थापन गर्नु हो।
अर्थतन्त्रमा पैसाको कमी हुन्छ, तब जनतालाई राहत दिन केन्द्रीय बैंकले नयाँ पैसा छापेर विभिन्न तरिकाबाट बजारमा उपलब्ध गराउन सक्छ। पैसाको आपूर्ति बढाउँदा मुलुकबाट बाहिर जाने पैसा पनि बढ्न थाल्छ। त्यसैले मुलुकले बाहिरबाट कमाउने रकमको सन्तुलनमा ध्यान दिनुपर्छ, नभए विदेशी मुद्रा सञ्चितिमा दबाब पर्छ र यसको सिधा असर मूल्य वृद्धिमा हुन्छ।
धेरै पैसा बाँडेर महंगी बढ्ने अवस्था आयो भने त्यसलाई नियन्त्रण गर्ने काम पनि राष्ट्र बैंककै हो। राष्ट्र बैंकले विभिन्न तरिका अपनाएर बजारमा घुमिरहेको पैसा खिच्ने काम गर्छ।
बजारको पैसा खिच्ने वा पैसाको आपूर्ति बढाउने काम राष्ट्र बैंकले नियमित गरिरहेको हुन्छ। यो काम मौद्रिक नीतिमार्फत् हुन्छ। यसै आधारमा मौद्रिक नीतिको वर्गीकरणसमेत गरिएको छ।
बजारमा पैसाको प्रवाह उच्च दरमा बढाउने लक्ष्य लिएको छ भने त्यस्तो मौद्रिक नीतिलाई 'विस्तारकारी मौद्रिक नीति' भनेर बुझिन्छ। मूल्य वृद्धि लगायतका चुनौतीसँग लड्न पैसाको प्रवाह घटाउने वा कम गर्ने गरी ल्याइने मौद्रिक नीतिलाई 'संकुचित मौद्रिक नीति' वा 'कसिलो मौद्रिक नीति' भनिन्छ।
पैसाको प्रवाह व्यवस्थापन गर्न विभिन्न रणनीति अपनाइन्छ। त्यसमध्ये प्रमुख रणनीति कर्जा प्रवाहको व्यवस्थापन हो। कर्जाको ब्याजदर महंगो वा सस्तो हुने गरी ल्याइने मौद्रिक नीतिले बजारमा पैसाको प्रवाह निर्धारण गर्छ। राष्ट्र बैंकले कम पैसा पठाउनु छ भने बैंकको ब्याजदर बढ्ने खालको (संकुचित) मौद्रिक नीति ल्याउँछ र पैसा प्रवाह बढाउनुछ भने ब्याजदर घट्ने खालको (विस्तारकारी) मौद्रिक नीति ल्याउँछ।
विस्तारकारी मौद्रिक नीति ल्याउँदा बैंकको ब्याजदर घट्नुका साथै मूल्यवृद्धि नियन्त्रण गर्न सकिनेभन्दा बाहिर जान सक्छ, विभिन्न क्षेत्रमा लगानी बढ्न सक्छ र अन्ततः अर्थतन्त्र पानीको फोकाजस्तो फुल्ने र फुट्ने अवस्थामा पुग्छ।
विस्तारकारी मौद्रिक नीतिबाट सिर्जना भएका समस्या निराकरणका लागि संकुचित मौद्रिक नीति ल्याइन्छ।
पैसाको प्रवाह र महंगी नियन्त्रणबीच अन्तरसम्बध हुन्छ। कुनै एउटा मात्रै वस्तुको भाउ घटबढ हुनु महंगी होइन। समग्रतामा वस्तु तथा सेवाको मूल्य बढ्नुलाई महंगी बढेको मानिन्छ।
मौद्रिक नीति किन महत्त्वपूर्ण?
बजेटले जस्तै मौद्रिक नीतिले पनि सर्वसाधारणलाई समेत प्रभावित पार्ने भएकाले त्यो महत्त्वपूर्ण हुन्छ। त्यसका साथसाथै देशको वित्तीय क्षेत्रका विभिन्न नीति-नियमहरू एकीकृत ढङ्गले यसमा आएका हुन्छन्। मौद्रिक नीतिले ब्याजदर तल लाने वा माथि लाने भन्ने निर्धारण गर्छ। त्यसले सर्वसाधारणलाई प्रत्यक्ष रूपमा असर पार्छ। “मौद्रिक नीतिमा सर्वसाधारणको सबैभन्दा ठूलो चासो भनेकै ब्याजदर हो। ब्याजदरबारे लिइने नीतिले कर्जा लिनेका लागि पनि छुन्छ र निक्षेप राख्नेका लागि पनि,” मौद्रिक नीतिको यो आधारभूत अवधारणाबाट हाम्रो दैनिक जीवन प्रत्यक्ष प्रभावित छ। आगामी दिनमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले दिने ऋणको ब्याज घट्छ कि बढ्छ? बैंकमा पैसा जम्मा गर्दा पाइने ब्याज घट्छ कि बढ्छ?
मुद्रास्फीतिले सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। त्यसैले महँगी नियन्त्रणका लागि कस्ता नीति लिइन्छन् भन्ने धेरैलाई चासोको विषय हुन्छ। राष्ट्र बैंकले मूल्यवृद्धि वा महंगी मापन गर्न विभिन्न वस्तु तथा सेवा क्षेत्रको छुट्टाछुट्टै डालो बनाएको हुन्छ। प्रत्येक डालोभित्रका प्रत्येक वस्तु तथा सेवाको मूल्य घटबढको औसत निकालेर मूल्यवृद्धि बढेको वा घटेको मापन गरिन्छ।
प्रत्येक वर्ष बजेट सार्वजनिक भएको केहीपछि केन्द्रीय ब्याङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ। अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने गर्दछ। कुनै व्यक्तिले ब्याङ्कबाट ऋण लिए, कारोबार गरे वा बचत ब्याङ्कमा निक्षेप गर्दा तय हुने ब्याज दर सबैमा मौद्रिक नीतिको प्रभाव हुन्छ।
महँगीमा मौद्रिक नीति कसरी जोडिन्छ त ?
महँगी नियन्त्रण गर्ने नगर्ने भन्ने कुरा मौद्रिक नीतिमा राखिने प्रावधानले निर्क्योल गर्दछ। नीति खुकुलो भएर बजारमा धेरै पैसा जाने वातावरण बनायो भने त्यसले वस्तु तथा सेवाको माग बढाउँछ र महँगी बढ्छ। बजारमा पैसा कम जानेखालको नीति लियो भने महँगी नियन्त्रित अवस्थामा रहन्छ। महँगी दरकै हाराहारीमा बचतको ब्याजदर भयो भने आम मानिसलाई फाइदा पुग्छ। अनि कर्जा भने सीमित व्यक्तिहरूको हातमा गएको र धेरैको पहुँचमा वित्तीय क्षेत्र अझै पुग्न नसकेको हुनाले महँगी र ब्याजदरलाई विचार गर्नुपर्ने हुन्छ।
Leave Your Comment