(हरेक हप्ता तपाईँले पठाउनु भएको प्रश्न समाधन गरी राखिनेछ। तपाईं के-कस्ता प्रश्नको समाधान चाहनु हुन्छ ? कृपया आफूलाईं लागेको प्रश्न र जिज्ञाशा पठाउनु हुन अनुरोध गर्दछौं। )
संघीयताका विशेषता उल्लेख गर्दै नेपालको संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धका आधारबारे चर्चा गर्नुहोस् । (४+६)= १०
प्रश्नकर्ता ः जीवन राई, विराटनगर, मोरङ ।
संघीयता
सार्वभौमसत्ताको दुई वा दुईभन्दा बढी
तहबाट प्रयोग हुने व्यवस्थासहितको राज्यको स्वरूपलाई संघीयता भनिन्छ । संघीयतामा
जनताको सार्वभौमिकताको वास्तविक अभ्यासका लागि एउटै मुलुकभित्र राष्ट्रिय सरकारका
अलावा क्षेत्रीय र स्थानीय तहमा समेत सरकारहरूको गठन र सञ्चालन हुने व्यवस्था
गरिएको हुन्छ । विश्वमा जम्मा २८ वटा मुलुकमा रहेको संघीय व्यवस्थाका देहायका आधारभूत
विशेषता देख्न सकिन्छ :
(क) एउटै मुलुकभित्र
शासनका दुई वा दुईभन्दा बढी तह हुन्छन् । तल्ला तहहरूको साझा उपरी संरचनाका रूपमा
संघ रहेको हुन्छ ।
(ख) तल्ला तहका सरकारमा
अधिकारको हस्तान्तरण लिखित संविधानबाटै गरिएको हुन्छ ।
(ग) संविधानले एकल र
साझा गरी दुई खाले अधिकार दिएको हुन्छ । एकल अधिकारका विषयमा तल्ला तहहरू स्वायत्त
र स्वशासित हुन्छन् भने साझा अधिकारका विषयमा शासनका तहहरूबीच साझेदारी शासन हुन्छ
। त्यसैले संघीयतामा स्वशासन र साझेदारी शासनको समिश्रण हुन्छ ।
(घ) संवैधानिक सीमाभित्र
रहेर सार्वभौम सत्ताको प्रयोग तल्ला तहका सरकारले समेत गर्न सक्ने भएता पनि यसको
अन्तिम प्रयोग गर्ने अधिकार भने संघलाई मात्र हुन्छ ।
(ङ) शक्तिको क्षितिजीय र
ठाडो दुवैखाले सन्तुलन र नियन्त्रण हुन्छ ।
(च) तहहरूका बीचमा
कार्यगत स्वायत्तता भएता पनि परस्परमा सहयोग, सह–अस्तित्व,
सहकारिता र समन्वयमा आधारित सम्बन्ध कायम गरिएको हुन्छ ।
(छ) शासनका तह र एकाइबीच
स्रोत–साधनको सन्तुलित, विवेकपूर्ण र न्यायोचित विनियोजनका
लागि स्वायत्त संवैधानिक निकायको व्यवस्था गरिएको हुन्छ ।
“अन्तरतह
सम्बन्ध भनेको संविधान तथा कानुनद्वारा निर्देशितभन्दा पनि अनुभव तथा अभ्यासबाट
परिष्कृत हुने विषय हो । अधिकांश संघीय मुलुकहरूको अन्तरतह
सम्बन्ध कानुनद्वाराभन्दा पनि विधिद्वारा सञ्चालित छ ।
विशेष गरी यस्तो व्यवस्था पुराना संघीय मुलुक अमेरिका, स्विट्जरल्यान्ड, जर्मनी, क्यानडा
र ब्राजिलमा छ ।“
संघ, प्रदेश
र स्थानीय तहबीचको अन्तरसम्बन्ध
नेपालको संघीयता केन्द्र विमुख वा
प्रतिस्पर्धी नभएर सहकारितामूलक स्वरूपको हो । सहकारितामूलक संघीयतामा शासनका
तहहरू परस्परमा सह–अस्तित्व, सहकार्य, सहयोग
र समन्वयका आधारमा सञ्चालित हुन्छन् । नेपालको संविधानले शासनका तहबीचको अन्तरसम्बन्धका
देहायका आधार तोकेको छः
(क) राजनीतिक
अन्तरसम्बन्ध
·
पारस्परिक सहयोगमा आधारित संघीयता :
धारा ५० (१)
·
तीन तहबीचमा सह–अस्तित्व, सहकारिता
र समन्वयमा आधारित सम्बन्ध : धारा २३२ (१)
·
संघ, प्रदेश र स्थानीय
तहबीच समन्वय कायम गर्न संघीय संसद्ले आवश्यक कानुन बनाउन सक्ने :धारा २३५ (१)
·
नेपाल सरकारले संविधान र संघीय
कानुनबमोजिम प्रदेश र स्थानीय तहलाई आवश्यक निर्देशन दिन सक्ने : धारा २३२ (२) र
(८)
·
आपसमा समन्वय कायम गर्न अन्तर–प्रदेश
परिषद् रहेने : धारा २३४ ।
(ख) प्रशासनिक
अन्तरसम्बन्ध
·
धारा ५०, धारा २३२ र धारा २३५
का माथि उल्लेख गरिएका व्यवास्थाहरू ।
·
लोकसेवा आयोगको परामर्शमा संघीय र
प्रदेश निजामती सेवाका पदबीच सेवा परिवर्तन वा स्थानान्तरण : धारा २४३ (५) (घ) ।
·
प्रदेश लोकसेवा आयोग कानुनको आधार र
मापदण्ड संघीय कानुनद्वारा निर्धारण हुने : धारा २४४ (३) ।
·
गाउँ/नगरपालिकाको कर्मचारी र
कार्यालयसम्बन्धी व्यवस्था प्रदेश कानुनबमोजिम हुने : धारा (२२७) ।
(ग) आर्थिक अन्तरसम्बन्ध
·
राजस्व स्रोतको बाँडफाँडसम्बन्धी
व्यवस्था (धारा ६०)
·
तीनै तहले आफ्नो आर्थिक अधिकार
क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्ने ।
·
साझा सूची र तीनै तहमा नपरेको विषयमा
कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरेबमोजिम हुने ।
·
नेपाल सरकारले संकलन गरेको राजस्व तीनै
तहबीच न्यायोचित वितरणको व्यवस्था मिलाउने ।
·
प्रदेश र स्थानीय तहले प्राप्त गर्ने
वित्तीय हस्तान्तरण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम
हुने ।
संघीयता राज्यशक्तिको प्रयोग शासितहरूकै संलग्नता र सहमतिमा गर्ने व्यवस्थाको अभ्यासद्वारा जनताको सार्वभौसत्ता स्थापित गर्ने प्रणाली हो । संघीयतामा सरकारका विभिन्न निकायबीचको सम्बन्धलाई कसिलो बनाउने भनेकै अन्तरतह समन्वयकारी संस्थाहरूको उपस्थिति र क्रियाशीलताले हो । विशेष गरी संघीय एकाइहरूबीच साझा सरोकारका विषयमा समान धारणा बनाउन र एकआपसमा हुने विवाद, असमझदारी र मतभिन्नतालाई समाधान गर्न यी निकायहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यी निकायहरू जति क्रियाशील हुन्छन्, संघीयता पनि त्यति नै प्रभावकारी हुन्छ । तथापि शासनका तहहरूले आ–आफ्नो अधिकारको प्रयोग गर्दा सह–अस्तित्वको मान्यताअनुरूप पारस्परिक सहयोग, साझेदारी र सहकार्यलाई केन्द्रबिन्दुमा राखिनुपर्छ । नेपालको संविधानले व्यवस्था गरेको संघीयताको मर्म पनि यही हो । संघीयतालाई चुस्त र फलदायी बनाउने अनि संविधानले परिलक्षित गरेको विकास, समृद्धि र सुशासनलाई तीव्रता दिने हो भने अन्तरतह समन्वयलाई निरन्तर क्रियाशील बनाउन जरुरी छ ।
Leave Your Comment